काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन कोशी र कर्णाली प्रदेशका संघीय सांसदहरूसँग छलफलमा जुटेका छन् । सोमबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सबै दलका सांसदहरूसँग उनी छलफलमा जुटेका हुन् ।

‘कोशी र कर्णाली प्रदेशका सबै दलबाट निर्वाचित सांसदसँग प्रधानमन्त्रीको छलफल चलिरहेको छ । चरणबद्ध रूपमा सबै प्रदेशका सांसदसँग प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ,’ स्रोतले भन्यो ।

तर कोशीकै सांसद श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राई भने प्रधानमन्त्री बालेन्द्रले बोलाएको बैठकमा उपस्थित भएनन् । उनले छलफल छोडेर संसद बैठक बोलाउनुपर्ने माग गरेका छन् ।
‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण था भएन’, हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी कोठे बैठकमा आउँदैनौँ । सदनको बैठक बोलाउनुपरो । हप्ताको एकचोटि कम्तीमा राख्नुपर्छ बैठक । जनताको प्रश्नहरूदेखि भाग्न पाइँदैन । सबै प्रश्नका उत्तर दिनैपर्छ ।’

सरकारका मन्त्रीहरूसँगको बिफ्रिङ सकिएपछि प्रधानमन्त्री बालेन्द्र सोमबार बिहान १० बजेबाटै सांसदहरूसँगको छलफलमा जुटेका छन् । सुदूरपश्चिमका सांसदबाट सुरु भएको छलफल मंगलबार सकिने छ । कोशी र कर्णालीपछि लुम्बिनीका सांसदसँग छलफल हुने भएको छ ।

प्रधानमन्त्री बालेन्द्रले सरकारको नीति कार्यक्रम र बजेट निर्माणअघि समेट्नुपर्ने विषयमा समेत अनौपचारिक छलफल गरेको बुझिएको छ । सांसदहरूसँग एकसरो छलफल गरेपछि हुने समस्या पहिचान गरेर सरकारले अगाडि सारेका सुशासनका एक सयवटा कार्यसूचीको कार्यान्वयन र बजेट निर्माणमा केन्द्रित हुने तयारीमा प्रधानमन्त्री रहेको बताइन्छ । प्रतनिधिसभाकाे पहिलाे बैठक चैत १६ गते आह्वान हुने भनिए पनि सरकारले बाेलाउन चासाे देखाएकाे छैन ।