काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारीसाधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयले बुधबार कार्यालय समयभित्रै पूर्वविशिष्ट पदाधिकारीहरूले लिइरहेको सवारी सुविधा सम्बन्धी पूर्ण विवरण इमेलमार्फत पठाउन गृह मन्त्रालयलाई ताकेता गरेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ।

ADVERTISEMENT

प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सवारीसाधन प्रयोग गरेको तथा विभिन्न निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि विवरण माग गरिएको सचिवालयको भनाइ छ।

निर्देशनअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले हाल प्रयोग गरिरहेका सुविधाको विस्तृत विवरण उपलब्ध गराउन भनिएको छ।

ADVERTISEMENT

यस विषयमा जानकारी दिँदै प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न यो कदम चालिएको बताइन्। उनका अनुसार कानुनले तोकेको सीमा बाहिर गएर लिइएका सुविधाको पहिचान गरी प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले विवरण माग गरिएको हो।

गृह मन्त्रालयबाट प्राप्त हुने विवरणका आधारमा मापदण्डभन्दा बढी सुविधा लिने पूर्वविशिष्ट पदाधिकारीबाट सवारीसाधन फिर्ता लिने तथा सुविधासम्बन्धी प्रक्रियालाई थप व्यवस्थित बनाउने तयारी सरकारको रहेको बताइएको छ।