काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सबै प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाएका हुन् ।

नेपालको संविधानको धारा, ९९ र ९१ को उपधारा, ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् । शपथसँगै सांसदको लोगो प्राप्त गर्दै औपचारिक रुपमा सांसदको जिम्मेवारी बहन गरेका छन् ।

भावी प्रधानमन्त्री रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनले पनि शपथ लिएका छन् । उनी उच्च सुरक्षा घेरामा सिंहदरबार पुगेका थिए । बालेन पुग्नेवित्तिकै नारा लागेको थियो । उनी सभाहलमा प्रवेश गरेपछि रास्वपा सांसदहरुले उठेर स्वागत गरेका थिए । बालेन सेतो दौरासुरुवाल, कालोकोट, सिलाम साक्मा लगाएर संसद् भवनभित्र प्रवेश गरेका थिए ।

बालेनले कुनै पनि दलका सांसदहरूसँग हात मिलाएनन् । उनी सिधै आफ्नो कुर्सीमा बसे अनि रास्वपा उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्लेसँग हात मिलाए । केहीछिनपछि रास्वपा सभापति रवि लामिछाने प्रवेश गरे र बालेनसँग हात मिलाए । त्यसपछि शपथ कार्यक्रम सुरु भएको थियो । प्रतिनिधिसभा सदस्यहरूमध्ये ६३ जनाले आआफ्नो मातृभाषा वा अन्य भाषामा शपथ लिएका थिए ।