काठमाडौँ।प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा संसदीय राजनीतिका लागि सबै नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा छन्।

विसं २०४६ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसका कार्यवाहक सभापति एवं तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस नेता प्रकाशमान सिंह र एमाले नेता प्रदीप नेपाललगायत ‘हेभीवेट’ नेताहरू चुनावी प्रतिस्पर्धामा होमिएको सो निर्वाचन क्षेत्र सधैँ चर्चामा रहँदै आएको छ।

विसं २०४८ मा उक्त निर्वाचन क्षेत्रबाट तत्कालीन प्रधानमन्त्री भट्टराईलाई पराजित गर्दै एमालेका तत्कालीन महासचिव भण्डारी विजयी भएका थिए। प्रजातन्त्रपछि गठित सरकारका प्रधानमन्त्री नै पराजित भएको घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ठूलो चर्चा पाएको थियो।

ADVERTISEMENT

महासचिव भण्डारीको सडक दुर्घटनामा निधन भएपछि २०५१ सालको उपनिर्वाचनमा उनकी धर्मपत्नी विद्यादेवी भण्डारीले कांग्रेसका पूर्व कार्यवाहक सभापति भट्टराईलाई पराजित गर्दै विजय हासिल गरेकी थिइन्। राजधानी उपत्यकामा उक्त निर्वाचन क्षेत्रलाई कांग्रेसको मतदाता बाहुल्य क्षेत्र मानिँदै आएको छ। मुलुकमा प्रजातन्त्र पुनःबहालीपछिका निर्वाचनमा एमालेको बहुल्यता रहेको उक्त निर्वाचन क्षेत्रमा गणतन्त्रपछि भने नेपाली कांग्रेसले आफ्नो पकड कायम राखेको थियो।

ADVERTISEMENT

विसं २०५१ मा भएको मध्यावधि निर्वाचनमा एमाले अध्यक्ष मनमोहन अधिकारी सो क्षेत्रबाट विजयी भएका थिए। त्यसपछि भएको २०५३ सालको उपनिर्वाचनमा कांग्रेसका तर्फबाट नारायणप्रसाद ढकाल विजयी भएका थिए। विसं २०५६ को संसदीय निर्वाचनमा एमाले नेता प्रदीप नेपाल विजयी भएका थिए। त्यसपछि २०६४ देखि २०७९ सम्म भएका चार वटा निर्वाचनमा नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह लगातार विजयी भएका थिए।

ADVERTISEMENT

मुलुकका प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च न्यायालय, जननिर्वाचित प्रतिनिधिको थलो संसद् तथा गत भदौको जेन–जी आन्दोलनको केन्द्र रहेको निर्वाचन क्षेत्र नं १ मा राजनीतिक दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

त्यसमध्ये राजनीतिक दलबाट तीन महिलासहित १६ जना र एक महिलासहित १३ जना स्वतन्त्र उम्मेदवार रहेको काठमाडौँ जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसपटक काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राजनीतिक दलका तर्फबाट २४ महिलासहित १६८ जना तथा २२ महिलासहित ८२ जना स्वतन्त्र उम्मेदवार छन्।

सहायक निर्वाचन अधिकृत भरत घिमिरेका अनुसार ४८ हजार ४८९ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा २२ मतदानस्थल र ५७ वटा मतदान केन्द्र छन्। उक्त निर्वाचन क्षेत्रभित्र काठमाडौँ महानगरपालिकाका वडा नं १०, ११, २९ र ३१ पर्दछन्। बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा पाँच वटा मतदान केन्द्र छन्, जहाँ चार हजार चार सय चौहत्तर मतदाता रहेका छन्।

यसपटकको निर्वाचनमा सो क्षेत्रबाट एमालेका मोहनराज रेग्मी, नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीकी मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना (न्यौपाने) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्र उम्मेदवार छन्।

यसैगरी जनता समाजवादी पार्टी नेपालबाट प्रकाश नायजु, नेपाल मजदुर किसान पार्टीबाट रमिला ज्याख्व (सुवाल), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सविन सिग्देल, श्रम संस्कृति पार्टीबाट समिर लामा तामाङ, मितेरी पार्टी नेपालबाट राजकुमार लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट धनराज शाही, उज्यालो नेपाल पार्टीबाट मङ्गलाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टी नेपालबाट इन्द्रप्रसाद श्रेष्ठ र नेपाल जनसेवा पार्टीबाट अर्जुनबहादुर शाही चुनावी मैदानमा छन्।

समावेशी समाजवादी पार्टीका सुरेन्द्र पाण्डे, जनादेश पार्टी नेपालका कमल सुवेदी, स्वतन्त्र उम्मेदवार कमल कोइराला, राजु भुजेल, शम्भु पोखरेल, सुरेन्द्रप्रसाद ढकाल, सागर जोशी, असिममान सिंह बस्न्यात, किरण शाह, कुमार शाही, राजकुमार बजगाई, शान्ति श्रेष्ठ, कुशल खत्री, सङ्गीत बम्म र रमेशप्रसाद जोशी पनि चुनावी प्रतिस्पर्धामा छन्।

एमालेका उम्मेदवार मोहनराज रेग्मीले राजनीतिक स्थायित्व, व्यवस्थाको सुदृढीकरण, आन्दोलनमा भएको क्षतिको पुनर्निर्माण, अव्यवस्थित बसोबास, खोला किनारा क्षेत्रको संरक्षण तथा पार्किङ व्यवस्थालाई आफ्नो प्राथमिकतामा राखेको बताए।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तेस्रो पटक सो निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्। “यसपटक मेरो उम्मेदवारीप्रति मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु,” उनले भने, “फरक राजनीतिक दर्शन र सिद्धान्त बोकेका मतदातासँग पनि भेटघाटको अवसर मिलेको छ। मतदाताको भावना परिवर्तन गर्नुपर्ने आवश्यकता देखेको छु।”

नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार मेनुका भण्डारीले आफू नागरिक आन्दोलनबाट आएको भन्दै जनताको गुनासो प्रतिनिधिसभामा पुर्‍याउने र कार्यान्वयनका लागि दबाब दिने कार्य आफ्नो प्राथमिकतामा रहेको बताइन्। उनले भनिन्, “क्षेत्र नं १ मा मुलुकका सबै जिल्लाका नागरिकको बसोबास छ। यो क्षेत्र भौतिक पूर्वाधार र शैक्षिक ‘हब’ को रूपमा विकसित हुँदै गएको छ। अब फोहरमैला व्यवस्थापन, ढल र खानेपानीको समस्या समाधान गर्नुपर्ने स्थानीयको माग छ।”

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) ले समग्र मतदाताको भावना राजनीतिक परिवर्तनसँगै चुनावी घोषणापत्र अध्ययनका आधारमा मत जाहेर गर्ने रहेको प्रतिक्रिया प्राप्त भएको बताइन्। उनले भनिन्, “यो संसदीय निर्वाचन भएकाले जनप्रतिनिधिको मुख्य जिम्मेवारी नीति र विधि निर्माण गर्नु हो भन्ने कुरा मतदाताले बुझेका छन्। यस क्षेत्रमा शान्ति सुरक्षा, व्यवसाय प्रवर्द्धन, सवारी तथा सडक व्यवस्थापनलगायत समस्या समाधानका लागि काम गर्नेछु।”

नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार रमिला ज्याख्वले आफ्नो पार्टी राष्ट्रिय स्वाधीनता र किसानको हकहितमा काम गर्दै आएको भन्दै यही विषय आफ्नो चुनावी एजेन्डा रहेको स्पष्ट पारिन्। उनले भनिन्, “शैक्षिक योग्यताअनुसार स्वदेशमै रोजगारी हुनुपर्छ। हुलदंगा र अराजक राजनीति चाहिँदैन। अहिले सिद्धान्त र विचारका आधारमा नेतृत्व गर्ने दलको खाँचो छ।”

स्वतन्त्र उम्मेदवार असिममान सिंह बस्न्यातले अघिल्ला निर्वाचनमा विजयी भएका सांसद मतदातालाई अप्ठ्यारो पर्दा निर्वाचन क्षेत्रमा नफर्किएको भन्ने गुनासो आफू विजयी भएमा दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “यस निर्वाचन क्षेत्रमा सबै नयाँ अनुहार छौँ। मतदाताले व्यक्तिगत योगदानलाई मूल्याङ्कन गर्छन्। स्थानीय भएकाले ‘यो क्षेत्र मबाट अलग छैन र म क्षेत्रबाट अलग छैन’ भन्ने मेरो प्रतिबद्धतालाई मतदाताले सकारात्मक रूपमा लिएका छन्।”

निर्वाचन क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले उम्मेदवारको मनोनयन पत्र दर्ता तथा निर्वाचन चिह्न प्रदानको काम सम्पन्न भइसकेको जानकारी दिँदै मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापनसम्बन्धी निरीक्षण तथा अध्ययनका कार्य अघि बढिरहेको बताए।