काठमाडौं । २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन्।बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए।

रञ्जु दर्शना वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा चिनिएको नाम हो। उनी १७ वर्षको उमेरमै २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा सक्रिय भएकी थिइन्।

त्यतिबेला विभिन्न राजनीतिक दलहरूले गर्ने नेपाल बन्दका कारण सर्वसाधारणले दुःख पाएको भन्दै उनले विरोधमा सडक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरिन्। उनको समेत सक्रियतामा ‘बन्द बहिष्कार अभियान’ सञ्चालन गरिएको थियो।

ADVERTISEMENT

रञ्जु समाजसेवामा पनि सक्रिय रहँदै आएकी छन्। २०७२ सालको महाभूकम्पपछि राहत तथा पुनर्स्थापनाको काममा उनी सक्रिय थिइन्। भ्रष्टाचारविरुद्ध डा. गोविन्द केसीले गरेका आन्दोलनका क्रममा पनि उनले सहयोगी भूमिका निभाएकी थिइन्।

ADVERTISEMENT

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनेकी थिइन्। ‘काठमाडौं विश्वको सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी उनले त्यसबेला २३ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन्।

२०७८ सालमा विवेकशील पार्टीमा आन्तरिक विवाद बढेपछि उनले पार्टीबाट राजीनामा दिएकी थिइन्। त्यसपछि केही समय स्वतन्त्र रहेकी रञ्जु २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्न लिएर उम्मेदवार बनेकी थिइन्। तर त्यसबेला उनले ६०० मत मात्रै प्राप्त गरेकी थिइन्।

२०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन्। सोही पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेर उनले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेकी हुन्।

काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा रञ्जुले स्नातक तहसम्म अध्ययन गरेकी छन्।