काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी बिहीबार बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि नै सुरु भएको हो । यो क्रम आज बेलुका ५ बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आज मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिने उनले बताए । आज बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम छ । माघ ९ गते शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीनवटा कार्यक्रम तय गरिएको जिसीले बताए ।
देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रोलिंगी एक गरी तीन हजार ४८७ को उम्मेद्वारी दर्ता भएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको पनि सहायक प्रवक्ता जिसीले सुनाए ।
सुनसरी २ का एक, रौतहट १ का एक, भक्तपुर २ का दुई र कैलाली १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ । यी उजुरीमाथि अहिले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ भइरहेको छ । रौतहट १ बाट उम्मेदवार बनेका माधवकुमार नेपाल, कैलाली १ बाट उम्मेदवार बनेका रेशमलाल चौधरी, भक्तपुर २ का राजीव खत्री र जानुका पाठकलगायत पाँचजना विरुद्ध उजुरी परेको छ । नेपाल पतञ्जली जग्गा प्रकरण, चाैधरी टीकापुर हत्याकाण्ड, खत्री स्काउटकाे पैसा प्रकरणमा विवादित छन् ।







