काठमाडौं। नेपाली कांग्रेस ले पार्टीको १५औं महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मिति संशोधनसहित महाधिवेशन गर्ने निर्णय पारित गरेको हो। कांग्रेसका अनुसार महाधिवेशनअन्तर्गत भदौ ३ गतेबाट वडा अधिवेशन सुरु गरिनेछ।
यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौ महिनामै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।बैठकले महाधिवेशनको प्रक्रिया अघि बढाउँदै वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का को अध्यक्षतामा निर्वाचन समिति गठन गरेको प्रवक्ता देवराज चालिसे ले जानकारी दिए।
त्यस्तै बैठकले संविधान संशोधनका विषयमा पार्टीको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णय पनि गरेको छ। साथै, नयाँ बन्ने सरकारलाई सकारात्मक सहयोग गर्ने र सुशासन तथा प्रगतिका दिशामा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिएको प्रवक्ता चालिसेले बताए।
बैठकले पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशील बनाउन महामन्त्रीद्वयको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णयसमेत गरेको जनाएको छ।






