काठमाडौं । नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। पार्टीका सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक रिट दायर गरेको छ।
बिहीबार दर्ता भएको उक्त पूरक रिटलाई सर्वोच्चले आज (चैत २७) का लागि पेसी तोकेको छ। यसअघि विशेष महाधिवेशनलाई मान्यता नदिन माग गर्दै दायर गरिएको रिटको पेसी भने आगामी वैशाख ३ गतेका लागि तोकिएको छ।
देउवा पक्षले अदालतबाट कुनै आदेश नआउँदै १५औँ महाधिवेशनसहित अन्य गतिविधि आधिकारिकता पाइसकेको जस्तो गरी अघि बढाइएको भन्दै आपत्ति जनाएको छ। सो पक्षले महाधिवेशनको कार्यतालिका कार्यान्वयनमा तत्काल रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गरेको छ।
रिटमा मुद्दाको अन्तिम छिनोफानो नभएसम्म महाधिवेशनसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आदेश दिनुपर्ने मागसमेत गरिएको छ।






