काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ सरकार गठन भए पनि समाजमा देखिएको आवेग, आक्रोश र असन्तुष्टिलाई विश्वासमा बदल्न नसकिएको भन्दै प्रश्न गरेका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले फागुन २१ गतेको निर्वाचनपछि नयाँ उत्साहसहित सरकार बने पनि समाजमा रहेको असन्तुष्टि कायमै रहनुको कारण खोज्नुपर्ने बताएका हुन्।

ADVERTISEMENT

‘फागुन २१ मा निर्वाचन भएर नयाँ उत्साहसहितको सरकार बनिसकेर पनि अझै पनि समाजमा हामीले आवेगलाई विश्वासमा लिन किन सकिरहेका छैनौँ?’ शर्माले प्रश्न गरे।

ADVERTISEMENT

उनले सामाजिक सञ्जालमा भइरहेको बहस र बढ्दो कटाक्षतर्फ संकेत गर्दै समाजमा किन एकअर्काप्रति आक्रोश र असन्तुष्टि बढिरहेको छ भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए।

‘किन सामाजिक सञ्जालमा हामी एकले अर्कोलाई प्रहार गर्ने कुरामा आनन्दित छौँ? किन हरेक मान्छे हरेकसँग रिसाएको छ, किन हरेक मान्छे हरेकसँग असन्तुष्ट छ, किन हरेक मान्छे हरेकसँग आक्रोशित छ?’ उनले प्रश्न गरे।

ADVERTISEMENT

शर्माले नयाँ सरकार र जिम्मेवार प्रतिपक्ष रहेको वर्तमान अवस्थालाई मुलुकका लागि महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।

उनका अनुसार बलियो सरकार र जिम्मेवार प्रतिपक्षको संयोजनलाई प्रभावकारी रूपमा उपयोग गर्न सके आगामी आधा दशकलाई मुलुकको विकास र उपलब्धिका लागि महत्वपूर्ण समय बनाउन सकिन्छ।

‘एउटा बलियो सरकार बनेको बेला, एउटा जिम्मेवार प्रतिपक्ष मुलुकमा भएको बेला इतिहासकै सुन्दर घडी यसलाई कसरी बनाउन सकिन्छ? यो आधा दशकलाई उपलब्धिमूलक कसरी बनाउन सकिन्छ?’ उनले भने।

Slug: bishwaprakash-sharma-questions-social-anger-and-trust