काठमाडौं । ग्लोबल मनी विकको अवसरमा प्रभु बैंक स्मार्ट मनी टल्क्स भन्ने मूल नाराका साथ देशका विभिन्न भागमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । चैत २ देखि सुरु भएको कार्यक्रम ८ गते (आइतबार) सम्पन्न गरेको छ ।
बैंकले सातै प्रदेशस्थित आफ्ना २०० भन्दा बढी शाखामार्फत साताव्यापी अभियानलाई सफल तुल्याउन वित्तीय साक्षरता, बालबालिका र युवालक्षित चेतनामूलक तथा प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरेकोे जनाएको छ ।
बैंकले स्मार्ट मनी टल्क्स भन्ने विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानी समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोे उल्लेख गरेको छ ।
बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको जनाएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशील विवरण सेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहनसमेत विभिन्न सूचना सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातै प्रदेशअन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडि बढाएको जनाएको छ ।
बैंकका बागमती प्रदेशका ४७, गण्डकी प्रदेशका ५२, लुम्बिनी प्रदेशका १६, कोशी प्रदेशका ३९, मधेश प्रदेशका २९, कर्णाली प्रदेशका चार र सुदूरपश्चिमका १९ शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।









