काठमाडौं, ११ फागुन। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ उपचारका लागि सार्वजनिक रूपमा आर्थिक सहयोग माग्न बाध्य भएकी छन्। सामाजिक सञ्जालमार्फत उनले उपचार खर्च जुटाउन अपिल गर्दै सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अपेक्षित सहयोग नपाएको उल्लेख गरेकी छन्।

साम्बाको घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको जनाइएको छ। जटिल शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने उनले बताएकी छन्। एन्फाले ५ लाख रुपैयाँसम्म सहयोग गर्न सक्ने प्रतिक्रिया दिएको साम्बाको भनाइ छ। सरकारी प्रक्रियासमेत अपेक्षाअनुसार अघि नबढेको उनको गुनासो छ।

यस विषयमा एन्फा प्रवक्ता सुरेश शाहले आन्तरिक छलफल भइरहेको प्रतिक्रिया दिएका छन्। नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले राष्ट्रिय टोलीकी कप्तानले उपचारका लागि सार्वजनिक अपिल गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए। उनका अनुसार खेलाडीको योगदानको समुचित मूल्यांकन हुन सकेको छैन।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले आवश्यक कागजात प्राप्त भएपछि सहयोगबारे निर्णय गरिने बताएका छन्। युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रमेश ढकालले पनि औपचारिक प्रक्रिया आएपछि छलफल हुने बताएका छन्।

युरोपेली लिगदेखि अस्ट्रेलियाको निन्जा ए–लिगसम्म खेलेर नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएकी साम्बा राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीमध्ये पर्छिन्। धेरैपटक निर्णायक गोल गर्दै नेपाललाई जित दिलाएकी उनले अहिले आफ्नो करियरकै कठिन चरण सामना गरिरहेकी छन्।