काठमाडौं, फागुण १२ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेवास्ता गरेको आरोप लगाउँदै फ्रेन्स क्लवका खेलाडीहरूले विरोध जनाएका छन्। उनीहरूले ‘साम्बा’प्रति ऐक्यबद्धता प्रकट गर्न राष्ट्रिय लिगअन्तर्गतको खेलअघि कालो पट्टि बाँधेर मैदानमा प्रवेश गर्न खोजेका थिए।

तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने खेल नियम विपरीत हुने भन्दै कालो पट्टि बाँधेर खेल्न नदिने निर्णय गरेको हो। एन्फाका पदाधिकारीहरूले खेलका क्रममा कुनै पनि प्रकारको राजनीतिक वा व्यक्तिगत सन्देश दिने गतिविधि नियमअनुसार स्वीकार्य नहुने बताएपछि खेलाडीहरूलाई कालो पट्टि हटाउन निर्देशन दिइएको थियो।

ADVERTISEMENT

फ्रेन्स क्लवका खेलाडीहरूले भने कप्तान ‘साम्बा’को स्वास्थ्य अवस्थालाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उपचारमा सम्बन्धित निकायले आवश्यक ध्यान नदिएको आरोप लगाएका छन्। उनीहरूले यो कदम कुनै राजनीतिक उद्देश्यले नभई खेलाडीप्रतिको समर्थन र मानवीय संवेदनाका आधारमा उठाइएको बताएका छन्।

हाल एन्फाको आयोजनामा राष्ट्रिय लिगका खेलहरू सञ्चालन भइरहेका छन्। यसैबीच खेल मैदानमै देखिएको यो विवादले एन्फाको भूमिकाबारे थप प्रश्न उठाएको छ।

ADVERTISEMENT

यस विषयमा एन्फाको औपचारिक धारणा आउन बाँकी रहेको छ भने फ्रेन्स क्लवले पनि आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।