काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म दुर्घटनामा मृत्यु भएका १७ जनाको शव निकालिएको छ। घाइते २८ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते सबै २८ जनाको सनाखत भइसकेको छ भने मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा उद्धार कार्य जारी रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



