धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टाका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिनेछ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार आवश्यक भएकाले उक्त अवधिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगेको थियो। पुल बगेपछि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।
वैकल्पिक सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
आवश्यकताअनुसार अन्य वैकल्पिक मार्ग प्रयोग गर्नसमेत प्रशासनले आग्रह गरेको छ।







