धादिङ –धादिङ जिल्ला कारागारमा आज दिउँसो कैदीहरूले भाग्ने प्रयास गर्दा उत्पन्न भएको तनाव नियन्त्रणका क्रममा सेनाले गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–४ का ७५ वर्षीय जितबहादुर घले र नवलपरासी पश्चिम, सुनवल नगरपालिका–१२ का ३६ वर्षीय इन्द्रबहादुर डाला रहेका छन्।

प्रहारी अधिकृतका  अनुसार घटनामा सात कैदीबन्दी घाइते भएका छन्। उनीहरू मानव बेचबिखन, जबरजस्तीकरणी र लागुऔषधसम्बन्धी मुद्दामा सजाय भोगिरहेका थिए। घाइतेहरुलाई थप उपचारका लागि बुधबार नै काठमाडौं पठाइएको प्रहरी अधिकृतले जानकारी दिए।

घटना दिउँसो करिब साढे २ बजे भएको हो। प्रहरीका अनुसार बिहान ९ बजेदेखि नै कैदीहरूले कारागारभित्र नाराबाजी गर्दै तोडफोड गरेका थिए। 

जेलभित्र सिपमूलक कामका लागि प्रयोग हुने घरेलु उपकरणलाई हतियार बनाएर कैदीबन्दीले सुरक्षकर्मीमाथि आक्रमण प्रयास गरेको पनि प्रहरीले जानकारी गरे । “ताला फोडेर बाहिर निस्कने प्रयास भएको थियो, त्यस क्रममा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयाससमेत भयो,” उनले भने।

कैदीबन्दीहरूले हालै काठमाडौंमा  सांसद रवि लामिछानेलाई थुनामुक्त गरिएको प्रसंगलाई जोड्दै आफूहरूलाई पनि छाड्नुपर्ने माग गरेका थिए। “रविलाई छाडिसकेकाले हामीलाई पनि मुक्त गर्नुपर्ने भन्दै उनीहरू आक्रोशित भएका थिए,” स्थिति नियन्त्रणबाहिर जाँदा सुरक्षाकर्मीले सुरुमा पानीको फोहोरा प्रयोग गरेर नियन्त्रणमा ल्याउन खोजे पनि सफल नभएपछि अन्ततः सेनाले गोली चलाएको जनाइएको छ।