काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा तय गरेको प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ । फागुन ९ गते रुपन्देहीको भैरहवा र १० गते कास्कीको पोखरामा योजना गर्ने भनिएको प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको हो ।

रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीका अनुसार पार्टी केन्द्रबाट कार्यक्रम तत्कालका लागि रोक्न निर्देशन आएको हो। सभाका लागि पत्रकार सम्मेलन, प्रचारप्रसार र मञ्च निर्माणको तयारीसमेत भइरहेको थियो। पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा ‘संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन’ का कारण सभा स्थगित गरिएको उल्लेख छ।

यस्तै शनिबार पोखरामा आयोजना गर्न लागिएको सभा पनि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापनका विशेष कारणले सभा स्थगित गरिएको उल्लेख छ। कार्यक्रमका लागि पत्रकार सम्मेलन, प्रचारप्रसार र स्टेज निर्माणको तयारीसमेत भइरहेको थियो।

बिहीबार दाङमा रास्वपा समर्थकले नेकपा एमालेको झण्डा जलाएको र अध्यक्ष केपी ओली विरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनापछि सभा स्थगित भएको बुझिएको छ । चुनावी माहोल थप बिथोलिन सक्ने भएपछि सभा रोकिएको आकलन गरिएको छ । एमाले कार्यकर्ताहरू उक्त घटनाप्रति आक्रोशित देखिएका छन्। एमाले निकट युथ भोलेन्टियर्स एसोसिएसनले झन्डा जलाउनेमाथि कारबाही नगरे प्रतिवादको चेतावनी दिएको छ ।

रास्वपा कार्यकर्ता र समर्थकले अछाममा नेकपाको कार्यक्रम बिथोल्न खोजेको पाइएको छ । अछाममा नेकपा उम्मेदवार भीमबहादुर रावलको चुनावी सभामा छिरेर हुलदंगा मच्चाउन खोजेको बताइएको छ । रामारोशन गाउँपालिका-५ चौकामा चुनावी सभा भैरहेका बेला बोलेरो गाडीमा हुँइकिंदै आएका सो पार्टीका कार्यकर्ताले घण्टी बजाएर आमसभा बिथोल्न खोजेको नेकपाले जनाएको छ ।

निर्वाचन प्रचार प्रसार कमिटीका संयोजक शेरबहादुर कुँवरका अनुसार आम सभा चलिरहेको स्थानमा ठूलो स्वरमा माइक बजाउँदै आएका रवि बालेन्द्रका कार्यकर्ताले सुरुमा गाडीबाट मुन्टो निकालेर घण्टी बजाउँदै जिस्क्याएका थिए ।

‘यो देख्नासाथ नेपाली कम्युनिष्ट पार्टीको सभामा सहभागी नेताले नजिकै रहेका प्रहरीलाई उक्त गाडीमा रहेका रास्वपाका मानिसहरूको हर्कत बन्द गराउनका साथै आमसभामा सहभागी जनतामा त्रास र उत्तेजना फैलाउने काम बन्द गराउन हाम्रो तर्फबाट आग्रह गरियो,’ कुँवरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रास्वपा सभापति रवि लामिछाने दाङमा आयोजना हुने चुनावी सभामा सरिक हुने भएका छन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन भने सुर्खेतबाट काठमाडौं हुँदै झापा पुगेका छन् । उनी सहभागी हुन नसक्ने भएपछि रास्वपाले भैरहवा र पोखराको चुनावी सभा स्थगित गरेको बताइन्छ ।