काठमाडौँ । नेपाली कांग्रेसको आइतबार सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा आयोजना हुने चुनावी सभामा प्रतिज्ञापत्र सार्वजनिक हुने छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बिपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिए ।

कांग्रेसले ६ गते मधेस प्रदेशको जनकपुरधामबाट चुनावी सभाको सुरूआत गर्दैछ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए ।
निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र पेस गर्न आइतबारसम्मको समय दिएको छ । कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने, तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए ।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि गगन थापाले मधेशलाई महत्व दिएका छन् । उनी काठमाडौं ४ छाडेर सर्लाही ४ पुगेका छन् । पार्टी सभापति सर्लाहीबाट उम्मेदवार बनेपछि मधेश प्रदेशमा कांग्रेसको पक्षमा जबर्जस्त माहोल तयार भएको छ ।

बुधबार कांग्रेसले जनकपुरको तिरहुतिया चौरमा बृहत चुनावी सभा गर्दैछ । जसलाई कांग्रेस सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मासहित वरिष्ठ कांग्रेस नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।