काठमाडौं । नेपाली सेनाले शुक्रबार साँझ ५ बजेसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लगाएको छ । जेनजी आन्दोलनले हिंसात्मक र सहरी विद्रोहको रूप लिएपछि सेनाले भदौ २४ गते राति १० बजेदेखि सुरक्षाको कमान्ड आफ्नो हातमा लिएको छ ।

त्यसयता सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा र कफर्यु आदेश जारी गर्दैछ । दिनभरि निषेधाज्ञा र साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कफर्यु आदेश छ । जसअनुसार शुक्रबार दिनभरि तीनवटै जिल्लामा निषेधाज्ञा लगाएको छ ।

ADVERTISEMENT

तर कांग्रेस नेता कार्यकर्ताले भने शुक्रबार गोंगबुमा जुलुस निकालेका छन् । कांग्रेस नेता जगदीश्वरनरसिंह केसीको नेतृत्वमा ठूलै जुलुस निकालिएको हो । कांंग्रेस नेता कार्यकर्ताले संविधानको रक्षा गर्न माग गर्दै नाराबाजी गरेका छन् । संविधान खारेज र संसद् विघटन गर्न लागेको हल्ला चलेपछि कांग्रेसले त्यसको विरोध गरेको हो ।

अहिले राष्ट्रपति रामचन्द्र पौडेल अन्तरिम सरकार प्रमुख नियुक्तिका विषयमा छलफलमा जुटेका छन् । यतिबेला शीतल निवासमा जेनजी प्रतिनिधिसँग राष्ट्रपति पौडेलले छलफल गरिरहेका छन् । आजै नागरिक सरकार गठन हुने सम्भावना छ । त्यसकै पूर्वसन्ध्यामा संसद् विघटन गर्न पाइँदैन भन्दै कांग्रेस नेता कार्यकर्ताले जुलुस निकालेका हुन् ।

ADVERTISEMENT

कांग्रेस निकट नेविसंघले बिहीबार नै काठमाडौंमा संविधानवाद मास्न पाइँदैन भन्दै प्रदर्शन गरेको थियो । माइतीघर, बबरमहल र नयाँ बानेश्वरमा नेविसंघका कार्यकर्ताले प्लेकार्ड प्रदर्शन गरेका थिए । जेनजी आन्दोलनपछि पहिलोपल्ट कांग्रेसले जुलुस निकालेको हो ।