काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दै बन्द भएको छ। कारोबारको सुरुवाती चरणमा उत्साह देखिए पनि अन्त्यसम्म आइपुग्दा बजार सीमित दायरामै अडिएको हो।
सोमबार नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ बिन्दुमा पुगेर बन्द भयो। कारोबारको क्रममा नेप्से २७०६ अंकसम्म उक्लिएको थियो। यद्यपि अघिल्लो दिनको तुलनामा कुल कारोबार रकममा भने कमी आएको छ। आइतबार ९ अर्ब रुपैयाँ नाघेको कारोबार सोमबार घटेर ८ अर्ब २२ करोड रुपैयाँमा सीमित भयो।
आजको कारोबारमा सूचीकृत ११४ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत रूपमा हेर्दा होटल तथा पर्यटन समूह १.७७ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो। विकास बैंक समूह पनि ०.७७ प्रतिशतले मजबुत देखियो। विपरीततर्फ, फाइनान्स उपसूचक ०.८९ प्रतिशतले घट्दा जीवन बीमा समूह ०.३५ प्रतिशतले ओरालो लागेको छ।
व्यक्तिगत कम्पनीतर्फ एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १० प्रतिशतले वृद्धि भयो। यता मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ।








