काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रका नमूना मतपत्र सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशअन्तर्गतका निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको हो।
आयोगका अनुसार एउटामात्र निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक–फरक नमूना मतपत्र तयार गरिएको छ। यी नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग गरिने जनाइएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार निर्धारण गरिएको छ। उम्मेदवार धेरै रहेका निर्वाचन क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो छ भने उम्मेदवार कम भएका क्षेत्रमा सानो आकारको मतपत्र छापिएको छ। यस अनुसार काठमाडौँको मतपत्र सबैभन्दा ठूलो रहेको आयोगले जनाएको छ।
कर्णाली प्रदेशमा एउटा मात्र निर्वाचन क्षेत्र भएका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिम तथा दुई निर्वाचन क्षेत्र रहेका दैलेख र सुर्खेतका लागि पनि नमूना मतपत्र सार्वजनिक गरिएको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटामात्र निर्वाचन क्षेत्र कायम छ। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। ती सबै निर्वाचन क्षेत्रका नमूना मतपत्र आयोगले सार्वजनिक गरेको छ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ कार्य भने सम्पन्न भइसकेको छ। नमूना मतपत्रमार्फत मतदातालाई मतदान प्रक्रियाबारे जानकारी गराउने र मत बदर हुने सम्भावना कम गर्ने लक्ष्य लिइएको आयोगले जनाएको छ।







