काठमाडौँ। निर्वाचन आयोग र राष्ट्रिय समाचार समिति (रासस) बीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी समाचार उत्पादन र प्रचारप्रसारबारे सम्झौता भएको छ।

आज आयोगमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा, आयोगका सचिव कृष्णबहादुर राउत, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, राससका महाप्रबन्धक सन्दिप राई र आयोगका सहसचिव राजेन्द्र केसी उपस्थित थिए। उनीहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सो सम्झौतापत्रले निर्वाचन प्रचारप्रसार सामग्री प्रकाशन र प्रसारणसम्बन्धी समन्वयको व्यवस्था गर्दै निर्वाचनको निष्पक्षता, पारदर्शिता र मतदाता शिक्षालाई प्राथमिकतामा राख्ने लक्ष्य राखेको छ। आजै यसै प्रकारको सम्झौता गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण नेपाल (नेपाल टेलिभिजन र रेडियो नेपाल), प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्डसँग पनि गरिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्ठापूर्वक सम्पन्न गर्न लागिपरेको जानकारी दिँदै छोटो समयमा धेरै कार्यहरू गर्नुपर्ने भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। उनले निर्वाचन प्रचारप्रसारमा नेपाल सरकारको स्वामित्वमा रहेका सञ्चारमाध्यमहरूले सहयोग गरिरहेको र समयमै मतदान प्रक्रिया सम्पन्न गर्दा विश्वका लागि उदाहरण प्रस्तुत हुने विश्वास व्यक्त गरे।

आयोगका सचिव कृष्णबहादुर राउतले स्थानीय स्तरमा स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षाको व्यवस्था गरिने जानकारी दिए । साथै आयोगले सामाजिक सञ्जालमार्फत पनि आधिकारिक सामग्री प्रचारप्रसार गरिरहेको हुँदा सम्बन्धित पक्षसँग समन्वय गर्न आग्रह गरे। 

सम्झौतापछि राससका कार्यकारी अध्यक्ष झाले नेपालमा विगत लामो समयदेखि निर्वाचनहरूमा राससले निर्वाह गर्दै आएको भूमिका स्मरण गर्दै यसअघि जस्तै आसन्न निर्वाचनमा पनि मतदाता शिक्षाका समाचार, आचारसंहिताको पालना र निर्वाचन सचेतनासम्बन्धी सामग्रीलाई प्राथमिकताका साथ सम्प्रेषण गरिने जानकारी दिए।