काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। निर्वाचनमार्फत १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिने भएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिएअनुसार निर्वाचन पुरानै विधानको व्यवस्थाअनुसार हुनेछ। निर्वाचनबाट दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ जना केन्द्रीय सदस्य चयन हुनेछन्। खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने व्यवस्था छ।

निर्वाचन समितिले तय गरेको तालिकाअनुसार आज दिउँसो १२ः३० बजे प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको छ। त्यसपछि एक घण्टा मतदाता नामावलीमाथि दाबी–विरोध दर्ता र छानबिन प्रक्रिया चल्नेछ।

ADVERTISEMENT

अन्तिम मतदाता नामावली अपराह्न २ बजे प्रकाशन भएपछि २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। उम्मेदवारहरूको प्रारम्भिक नामावली नेपाली वर्णानुक्रम अनुसार आजै सार्वजनिक गरिनेछ।

ADVERTISEMENT

उम्मेदवारीमाथि परेका दाबी–विरोधको छानबिन साँझ ७ बजेसम्म सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ। त्यसपछि उम्मेदवारी फिर्ता लिने प्रक्रिया अघि बढाइनेछ र अन्तिम उम्मेदवार नामावली राति ८ः४५ बजे प्रकाशन गरिनेछ।

ADVERTISEMENT