काठमाडौं । पाँचपटकको विश्वकप विजेता ब्राजिल र नकआउट चरणमा पहिलोपटक प्रवेश गरेको नर्वेबीचको बहुप्रतीक्षित भिडन्त आज राति हुँदैछ । ब्राजिलले फिफा विश्वकपको ‘राउन्ड अफ १६’ मा नर्वेको सामना गर्दैछ ।

ब्राजिल र नर्वेबीचको खेल न्यु जर्सी रंगशालामा आज राति १ः४५ बजे सुरु हुँदैछ । अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलले नर्वेलाई कहिल्यै हराउन सकेको छैन। सोही कारण पनि आजको खेललाई निकै महत्वसाथ हेरिएको हो ।

ब्राजिलसँग एलिसन बेकर, ड्यानिलो, मार्किन्होस, गेब्रियल म्यागाल्हेस, वेन्डेल, ब्रुनो गुइमारेस, जोआओ गोम्स, राफिनहा, लुकास पाकेटा, भिनिसियस जुनियर, रोड्रिगो जस्ता चर्चित खेलाडी छन् । नेयमार पनि आजको खेलमा मैदानमा देखिन सक्ने अनुमान छ ।

ADVERTISEMENT

नर्वेसँग ओर्जन नाइल्यान्ड, जुलियन रायरसन, एन्ड्रियास ह्यान्चे ओल्सेन, लियो ओस्टिगार्ड, डेभिड वोल्फ, मार्टिन ओडेगार्ड, प्याट्रिक बर्ग, स्यान्डर बर्गे, ओस्कर बब, जोर्गेन स्ट्रान्ड लार्सन, अर्लिंग हालान्ड जस्ता खेलाडी छन् ।

ADVERTISEMENT

नर्वेका हालान्डको लयलाई हेर्दा यो खेल ब्राजिलका लागि अझै पनि सहज हुनेछैन। हालान्डले जारी प्रतियोगितामा पाँच गोल गरेका छन्। ‘गोल्डेन बुट’ को दौडमा उनी मेस्सी र एमबाप्पेभन्दा पछि पर्दै तेस्रो स्थानमा छन्।

ADVERTISEMENT

ब्राजिल र नर्वेबीच हालसम्म कुल चारवटा अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। यीमध्ये नर्वेले दुई खेल जितेको छ । दुई खेल बराबरीमा टुंगिएका छन्। पाँचपटकको च्याम्पियन ब्राजिल नर्वेविरुद्ध आफ्नो पहिलो जितको प्रतीक्षामा छ। यी दुई टोली फिफा विश्वकपमा दोस्रो पटक आमने सामने हुदैँछन्। यसअघि सन् १९९८ को विश्वकपमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गरेको थियो।

ब्राजिलको टोली जारी प्रतियोगितामा हालसम्म अपराजित रहेको छ। टोलीले खेलेका चारमध्ये ३ खेल जितेको छ भने एउटा खेल बराबरीमा टुंगिएको छ। ‘राउन्ड अफ ३२’ मा ब्राजिलले जापानलाई २–१ ले पराजित गरेको थियो । स्कटल्याण्ड र हाइटीलाई समान ३-० ले हराएको ब्राजिल र मोरक्कोको खेल १–१ को बराबरीमा सकिएको थियो।

नर्वेले आफ्ना चारमध्ये तीन खेल जित्यो र एउटामा हार बेहोरेको छ । ‘राउन्ड अफ ३२’ मा टोलीले आइभोरी कोस्टलाई २–१ ले पराजित गरेको थियो। त्यसअघि समूह चरणमा इराकलाई ४–१ र सेनेगललाई ३–२ ले हराएको नर्वेेले फ्रान्ससँग ४–१ को हार बेहोर्नु परेको थियो ।

ब्राजिलले चार गोल गरिसकेका फरवार्ड भिनिसियस जुनियरबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । नर्वेली टोली स्ट्राइकर अर्लिङ हालान्डको खेलमा निर्भर रहनेछ।