काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र बुझाएको छ । अभियानले शुक्रबार पार्टी कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको हो ।
विशेष महाधिवेशन अभियानका नेतृत्वकर्तामध्येका नेता देवराज चालिसेको अगुवाइमा ज्ञापनपत्र बुझाइएको हो । उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सानेपामै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पुगेर ज्ञापनपत्र बुझाउने प्रयास गरेका थिए । तर, खड्काले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई ज्ञापनपत्र बुझ्न पठाएका थिए ।
मुख्यसचिवलाई पठाइएपछि महामन्त्री गगन थापा आफैँ उपस्थित भए । कांग्रेसका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन अभियन्तासँगै बैठकबाट बाहिर निस्किएका छन् ।
विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र गर्नैपर्ने बाध्यता रहेको पक्षधरले उल्लेख गरेको छ । उक्त अवधिमा नियमित नभए विशेष महाधिवेशन गर्नैपर्नेमा उनीहरूले जोड दिएका छन् ।
ुस्वभाविक रूपमा महाधिवेशन माग गरेका थियौं । तर, नियमित महाधिवेशन हुने विश्वस्त आधार देखिएन । नियत हो कि के हो थाहा भएन । हामीले मागेको विशेष महाधिवेशनको औचित्य पुष्टि भएको छ । विधानबमोजिम मागिएको विशेष महाधिवेशन होस् भनी स्मरण पत्र बुझाएका छौं,’ अभियानले भनेको छ ।
तीन महिनासम्म पनि पार्टीले कुनै सम्बोधन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । ‘विधानको धारा १७ (२) मा उल्लेखित वाध्यात्मक व्यबस्था केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ लाई अनिवार्य कार्यान्वयन गर्न पुनः स्मरण गराउन चाहन्छौं। यो माग पार्टीको लोकतान्त्रिक मूल्य(मान्यता, विधानको सम्मान तथा कार्यान्वय र राष्ट्रिय आवश्यकतासँग जोडिएको छ। यसलाई अविलम्ब सम्बोधन गरी नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, एकता र दिशासहित अघि बढाउन हार्दिक अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।







