काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग शनिबार निर्वाचनबारे छलफल गर्ने भएकी छन् । सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरे पनि दलहरूले शान्ति सुरक्षालगायतमा प्रश्न उठाउँदै आएका छन् ।

अब निर्वाचन आउन ६९ दिन मात्र बाँकी छ । त्यसैले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै छन् । खरेलले तीन शीर्ष नेतालाई शनिबार प्रधानमन्त्री कार्कीको तर्फबाट निम्तो पनि गरेका छन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले भोलि दिउँसो ४ बजे ओली, देउवा र प्रचण्डसँग छलफल गर्न लागेकी हुन् ।

एमालेले यसबारे प्रश्न उठाइरहेका बेला सरकारका मन्त्रीहरू नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागेका छन् । एक चरणमा सरकारका मन्त्रीहरूले सबै दलको पार्टी कार्यालयको अनुगमन गरिसकेका छन् । चुनाव गराएर सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री कार्की हतारमा छिन् । यो कुरा उनले बिहीबार आयोजित एक कार्यक्रममा पनि खुलाइसकेकी छन् ।