स्याङ्जा । स्याङ्जाको सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता र शैक्षिक बेथितिसम्बन्धी आरोप सार्वजनिक भएका छन् । क्याम्पसका सहायक प्रमुखमाथि दोहोरो सुविधा लिएको, शोधपत्र लेखनमा सहजीकरण गरेबापत विद्यार्थीबाट रकम उठाएको तर क्याम्पसको आम्दानीमा दाखिला नगरेको आरोप लागेको छ ।

क्याम्पसका सहायक प्रमुख शंकरप्रसाद लामिछानेमाथि २०७२ सालदेखि दोहोरो सुविधा लिँदै आएको आरोप छ । उनी अवकाशप्राप्त प्राथमिक तहका स्थायी शिक्षक हुन् । पूर्वमन्त्री गोपालमान श्रेष्ठको दबाबमा उपप्राध्यापक पदमा स्थायी नियुक्ति लिएको दाबीसमेत गरिएको छ ।

ADVERTISEMENT

प्रचलित कानुनले राज्यकोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरेको अवस्थामा लामिछानेले पेन्सनसँगै क्याम्पसबाट तलब तथा दसैँ खर्चसमेत लिँदै आएको आरोप छ ।

ADVERTISEMENT

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा उजुरी परेको क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले बताएका छन् । उनका अनुसार अख्तियारबाट छानबिन गरी दोषीलाई कारबाही गर्न पत्र प्राप्त भएपछि आफूले क्याम्पस सञ्चालक समितिलाई जानकारी गराइसकेका छन् ।

त्यस्तै, स्नातकोत्तर तहका विद्यार्थीबाट शोधपत्र लेखनमा सहजीकरण गरेबापत प्रतिविद्यार्थी १० हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरेको आरोप पनि सार्वजनिक भएको छ । यसबारे क्याम्पस प्रमुख अर्यालले प्रतिविद्यार्थी १० हजार रुपैयाँ उठाइएको स्वीकार गरेका छन् ।

तर, विद्यार्थीबाट संकलित उक्त रकम क्याम्पसको आम्दानीमा दाखिला भएको देखिएको छैन । गत आर्थिक वर्षको लेखापरीक्षण गरेका लेखापरीक्षक अग्निप्रसाद भण्डारीले शोधपत्रबापत उठाइएको रकम क्याम्पसको आय विवरणमा नदेखिएको भन्दै कोषमा दाखिला गर्न निर्देशन दिएको बताएका छन् ।

क्याम्पसमा शिक्षक नियुक्ति र अध्यापनको योग्यतामाथि पनि प्रश्न उठाइएको छ । त्रिभुवन विश्वविद्यालयको व्यवस्था अनुसार प्राध्यापनका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका शिक्षकसमेत राजनीतिक पहुँचका आधारमा अध्यापनमा संलग्न रहेको आरोप छ ।

स्नातकोत्तर तहमा शिक्षकले अध्ययन नगरेको विषयसमेत अध्यापन गराइरहेको विषय सार्वजनिक भएको छ । क्याम्पस प्रमुख अर्यालले जनशक्ति अभावका कारण केही विषय बाध्यतावश सञ्चालन गर्नुपरेको बताएका छन् ।

केही सामुदायिक विद्यालयका शिक्षकले क्याम्पसमा आंशिक अध्यापनसमेत गरिरहेका छन् । यसले बिहान क्याम्पसमा र दिउँसो विद्यालयमा अध्यापन गर्दा दुवैतर्फको पठनपाठन प्रभावित भएको आरोप छ । क्याम्पसको परीक्षामा भत्ता लिएर निरीक्षक बस्न विद्यालयको पढाइ छाड्ने गरेको दाबीसमेत गरिएको छ ।

त्यस्तै, क्याम्पस र विद्यालयमा अध्यापन गरेर वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने शिक्षक तथा कर्मचारीले तिर्नुपर्ने आयकर राज्यकोषमा दाखिला भएको नदेखिएको आरोप पनि लगाइएको छ ।

क्याम्पसमा देखिएका आर्थिक तथा शैक्षिक अनियमितताबारे सञ्चालक समितिका अध्यक्ष तुलसी गिरीले आफूलाई विषयबारे जानकारी रहेको बताएका छन् । उनले छिट्टै बैठक बसेर समस्याको निकास खोज्ने बताएका छन् ।