काठमाडौं । यामाहाको मोटरसाइकल एक्सएसआर १५५ नेपालमा नयाँ ग्रे–ग्रीन मेटालिक रङमा सार्वजनिक भएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा एमएडब्ल्यू राइड्सले नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।

नयाँ रङको मोटरसाइकलको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ । यो मूल्य यसअघि उपलब्ध ब्ल्याक भेरियन्टकै बराबर हो ।

नयाँ भेरियन्ट सार्वजनिक भएसँगै यामाहा एक्सएसआर १५५ अब ग्रे–ग्रीन मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँच रङमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको एक्सएसआर १५५ मा भेरिएबल भल्भ एक्चुएसन (भीभीए) इन्जिन, डेल्टा बक्स फ्रेम, ६ स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टम रहेका छन् । यी विशेषताले मोटरसाइकलको कार्यसम्पादन, स्थिरता र नियन्त्रणमा सहयोग पुर्‍याउने कम्पनीको दाबी छ ।

ADVERTISEMENT

कार्यक्रममा एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल र जापानबीचको सात दशक लामो मित्रता तथा सहकार्यको चर्चा गर्दै यामाहालाई जापानी इन्जिनियरिङ र नवप्रवर्तनको प्रतिनिधिका रूपमा प्रस्तुत गरे । उनले नेपाली ग्राहकलाई जापानी प्रविधि र गुणस्तर उपलब्ध गराउन एमएडब्ल्यू प्रतिबद्ध रहेको बताए ।

फेस्टिभलमा जापानी कोटो संगीत, ताइको ड्रमिङ, क्यालिग्राफी, कस्प्ले लगायतका सांस्कृतिक प्रस्तुति पनि राखिएका थिए । नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले देशभर १०५ आउटलेटमार्फत बिक्री, सर्भिस र स्पेयर पार्ट्स सेवा उपलब्ध गराउँदै आएको छ ।