काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका श्रम अधिकार सुनिश्चित गर्न नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै महासंघले राजनीतिक दलका कार्यालयमा धर्नादेखि देशव्यापी प्रदर्शनसम्मका कार्यक्रम तय गरेको हो ।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजिएको तथा सञ्चारमाध्यममा अवरोध पुर्‍याउनेमाथि कारबाही नभएको आरोप लगाएको छ ।

ADVERTISEMENT

त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको कारण बनाएको छ ।

ADVERTISEMENT

महासंघका अनुसार पहिलो चरणको आन्दोलन सम्पन्न गर्दा पनि सरकारले माग सम्बोधनमा चासो नदेखाएपछि राजनीतिक दलहरूमाथि दबाब सिर्जना गर्न दोस्रो चरणको कार्यक्रम घोषणा गरिएको हो ।

घोषित कार्यक्रमअनुसार मंसिर १३ गते बिहान ११ देखि १२ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा धर्ना दिइनेछ । त्यस दिन ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित विरोध गरिने महासंघले जनाएको छ ।

त्यसपछि मंसिर १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेपाली कम्युनिस्ट पार्टी, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा धर्ना दिने कार्यक्रम छ ।

यसैगरी, मंसिर २० गते काठमाडौंको माइतीघर तथा देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने महासंघले जनाएको छ ।

महासंघले कुनै राजनीतिक दलले आफ्ना मागप्रति लिखित ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्धता व्यक्त गरेमा उक्त दलको कार्यालयमा धर्ना नदिने स्पष्ट पारेको छ ।

दोस्रो चरणको आन्दोलनबाट पनि माग सम्बोधन नभए तेस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा आन्दोलनका कार्यक्रमबारे जानकारी दिइएको हो ।