काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको अन्तरिम सरकारमाथि जेन–जी समूह र राजनीतिक दलहरू दुवैतर्फबाट आलोचना भइरहेको बताउँदै आफूहरू सबैतिरको प्रहार सहने ‘अचानो’ नभएको स्पष्ट पारेकी छिन्।
सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको घटनाको आवेगका कारण अहिले आफूहरूले आक्षेप र आलोचना खेपिरहेको उल्लेख गरिन्। उनले भनिन्, “हिजोका त्रुटि र गल्तीको परिणामस्वरूप भदौ २३–२४ को घटना भयो। त्यसको आवेग हामी झेलिरहेका छौँ। आज जेन–जीबाट पनि आलोचना भइरहेको छ, राजनीतिक दलहरूबाट पनि। हामी अचानो होइनौँ नि। तर मुलुकका लागि यी आक्षेप खेप्न तयार छौँ।”
प्रधानमन्त्री कार्कीले देशको सर्वेसर्वा जनता भएको र राजनीतिक दलहरू जनताको सेवा गर्न बसेको बताइन्। उनले राजनीतिक दलहरूबीच भागबन्डा नमिलेको असर जनतामाथि नपार्न आग्रह गर्दै भनिन्, “यो देशको सर्वेसर्वा जनता जनार्दन हो। राजनीतिक दलहरू दोस्रो कुरा हुन्। दलहरू जनताको सेवा गर्न बसेका हुन्। भदौ २३–२४ मा भएको आन्दोलन, हिंसा र नाबालकहरूको मृत्युले जनतामा गहिरो प्रभाव पारेको छ।”
उनले आफूहरू जेन–जीको रगतमा ऐसआराम गर्न नआएको पनि प्रष्ट पारिन्।










