काठमाडौं । तीन महिनाअघि भदौ २४ गते बालुवाटारबाट सेनाको हेलिकोप्टर चढेर भागेका तत्कालीन प्रधानमन्त्री केपी ओली फेरि पनि एमालेको अध्यक्ष बन्न लागिपरेका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीमा पार्टीको ११औं महाधिवेशनमा ओलीप्रति नेता, कार्यकर्ता र शुभेच्छुकले देखाएको सदासयताले ओली फेरि पनि अध्यक्ष निर्वाचित हुने संघारमा देखिन्छ ।
कांग्रेस र एमालेको संयुक्त सरकारका प्रधानमन्त्री ओली तीन महिनाअघिको जस्तो अवस्थामा अहिले छैनन् । केही समय भक्तपुरको गुण्डुमै मात्र सीमित ओली विस्तारै काठमाडौं छिर्न थालेका छन् । दुई महिनाअघि केन्द्रीय समितिको बैठकमा ललितपुरको जावलाखेल आएका ओली त्यसपछि पार्टी कार्यालय निरन्तर, कांग्रेस सभापति शेरबहादुर देउवा निवास महाराजगन्ज हुँदै अहिले भृकुटीमण्डप पुगेका छन् ।
प्रतिकुूलताका बिच एमालेको महाधिवेशन उदघाटनमा जति मान्छे उपस्थित भए त्यो सानो संख्या होइन । यसले पनि ओलीमा अर्कै उत्साह थपेको देखिन्छ । आइतबार बिहान महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डप पुगेका ओली हँसमुख देखिए । ओली भृकुटीमण्डप पुगेसँगै अब केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
बन्दसत्र १२ः ३० बजेका लागि सार्दै ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए । अध्यक्ष ओली विभिन्न पदाधिकारीका आकांक्षीसँगको भेटमा व्यस्त भएपछि बैठक केही ढिलो हुन पुगेको हो ।बैठकमा ओलीले विधान संशोधन प्रस्ताव ल्याउने तयारी गरेका छन्। पदाधिकारी १९ र केन्द्रीय समिति ३०१ बनाउन प्रस्ताव गर्ने ओलीको तयारी छ ।






