काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको मंगलबार (असार ३ं१) एक वर्ष पुगेको छ ।
तत्कालीन माओवादी–एमाले–रास्वपा सरकारलाई विस्थापित गर्दै कांग्रेस–एमाले गठबन्धनबाट ओली प्रधानमन्त्री नियुक्त भएका थिए । एक वर्षअघि आजकै दिन ओलीले प्रधानमन्त्रीको सपथ लिएका थिए । त्यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए ।
ओली सरकारका मन्त्रीहरू भने निकै विवादास्पद रहे । कोही भ्रष्टाचारमा मुछिए । कोही घुस डिल प्रकरणमा मुछिए । कसैलाई जबर्जस्ती राजीनामा दिन लगाइयो । ७८ लाख घुस डिल प्रकरणमा मंगलबार मात्रै सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले पोलेका भूमिव्यवस्था मन्त्री बलराम अधिकारी अझै पदमै बहाल छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै रास्वपाले संसदमा विरोध गरेको डेढ महिना बितिसकेको छ । तर लेखकले राजीनामा दिएका छैनन् ।
यसअघि शिक्षामन्त्री विद्या भट्टराईलाई दबाब दिएर राजीनामा दिन लगाइयो । र, उनको ठाउँमा रघुजी पन्त ल्याइयो । भट्टराईले राजीनामा दिँदा आफ्नो स्वास्थ्य अवस्था कारण देखाएकी थिइन् । तर यथार्थमा त्यस्तो थिएन । भट्टराई अहिले पनि संसदीय गतिविधिमा सक्रिय नै छिन् ।
त्यस्तै, कुलमान घिसिङलाई साथ दिएको, उनको पक्षमा बोलेको भन्दै ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई पदबाटै बर्खास्त गरियो । जबकि उनी कुनै भ्रष्टाचारमा सामेल भएका थिएनन् । विभिन्न मन्त्रीहरूकै कारण वर्षभरि ओली सरकार चर्चामा त कहिले विवादमा परिरह्यो ।
यसैलाई संकेत गर्दै माओवादी सांसद लेखनाथ दाहालले शंकै शंकाको घेरामा वर्तमान सरकारले एक वर्ष बिताएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले माफियाहरूको दबाब र प्रभावमा एमाले र कांग्रेस गठबन्धनको सरकार बनेको भन्दै सरकारको एक वर्ष प्रश्नैप्रश्न र शंकैशंकाको घेरामा बिताएको बताएका हुन्।






