काठमाडौं । एमालेले ११औँ राष्ट्रिय महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको बैठकले मनोनयन गरेका महाधिवेशन प्रतिनिधि शनिबार बिहान सार्वजनिक गरिएको हो ।

एमालेका संगठन विभाग एवं प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि संख्या २ हजार २६२ हुने जानकारी दिए । उनका अनुसार एमाले केन्द्रीय सचिवालयको जारी गरेको अपानी १३ को आधारमा तय गरिएको संख्या र मापदण्ड बमोजिम मनोनयन बाहेक २१५४ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको बताए ।

वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने संख्या १०८ कायम गरिएको छ । जुन सचिवालय बैठकले चयन गरेको हो । योसँगै ३०९ जना केन्द्रीय सल्लाहकारहरू समेत गरी महाधिवेशनमा कुल सहभागी संख्या २५७१ हुने भएको छ ।

तर प्रतिनिधि मनोनयनलाई लिएर ईश्वर पोखरेल पक्षले आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय सचिवालय बैठकमा प्रस्ताव गरेको सूची मात्र आज सार्वजनिक गरिएको पोखरेल निकट पत्रकार राजेश राईले जनाएका छन् । उनले यसमा आफ्नो पक्षको आपत्ति रहेको जनाएका छन् ।

‘हिजोको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरु कमरेड अध्यक्ष र कमरेड वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने सहमति भएको थियो । सोही सहमतिअनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने कुराकानी भएको थियो । तर उक्त सहमति विपरीत एकलौटी ढंगले सूची प्रकाशित गरिएको कमरेड ईश्वर पोखरेलले जानकारी दिनुभयो । आज प्रकाशित हिजो अध्यक्ष कमरेडले प्रस्तुत गर्नु भएको नामको सूची हो । अध्यक्षको दाबेदार ईश्वर पोखरेलले हिजो आफ्नो समूहको तर्फबाट अलग सूची प्रस्तुत गर्नुभएको थियो । ती दुबै नामहरुविचमा सहमति खोज्ने निर्णय भएको हो । आज प्रकाशित सूची हिजो अध्यक्षले टेबल गर्नुभएको उहाँको सूची मात्रै हो,’ राईले जारी गरेको प्रेस नोटमा भनिएको छ ।