काठमाडौं । राजनीतिक संक्रमणबीच एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ । उदघाटन भक्तपुरको सल्लाघारीमा हुनेछ ।
महाधिवेशनको उद्घाटनअघि बिहान १० बजेबाट राजधानीका विभिन भेगमा निकालिएको जुलुस भक्तपुर पुगेपछि दिउँसो १२ बजेपछि औपचारिक उद्घाटनको कार्यक्रम छ ।
विभिन्न जिल्ला र प्रदेशबाट आएका प्रतिनिधि, पर्यवेक्षक, नेता तथा कार्यकर्ताहरू भक्तपुरको गट्ठाघर र जगाती क्षेत्रबाट जुलुससहित कार्यक्रमस्थल प्रवेश गर्ने बताइएको छ । जुलुसपछि महाधिवेशनको औपचारिक उद्घाटन सत्र सुरु हुने जानकारी दिइएको छ ।
अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि तथा अतिथिहरूको सहभागिता रहने एमालेले जनाएको छ ।
कार्यक्रमस्थल वरपर एमालेले १० हजार बढी स्वयम्सेवक खटाउँदै छ । भोलि र पर्सिको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा राखिएको छ ।
महाधिवेशन उद्घाटन स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्क्यानरले चेकजाँच गरेपछि मात्र नेता कार्यकर्तालाई समारोहस्थलमा प्रवेश दिइएको छ ।







