काठमाडौं । एमालेको एघारौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि राति ८ बजेदेखि मतदान हुने भएको छ । विद्युतीय उपकरण (भोटिङ मेसिन) मा कोडिङ गर्ने क्रम जारी रहेकाले मतदान राति हुने भएको हो ।
केन्द्रीय निर्वाचन आयोगले मंगलवार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर यो समय पनि धकेलिएर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो । अब राति ८ बजेदेखि मात्रै मतदान हुने जनाएको छ ।
उम्मेदवारहरूको प्राविधिक कुराहरूलाई मिलाउन ढिलाइ भएकाले मतदान प्रक्रिया ढिला भएको आयोगले जनाएको छ । तर इतर समूहले भने राति मतदान नगराउन दबाब दिँदै आएको छ । ईश्वर पोखरेल समूहका नेता योगेश भट्टराईले राति मतदान हुँदा अप्रिय घटना नहोस् भन्ने टिप्पणी गरेका छन् ।
राति मतदान हुँदा धाँधली हुने इतर समूहकाे आशंका छ । एउटा प्रतिनिधिलाई मत हाल्न आधा घन्टा लाग्ने देखिपछि मतदानकाे प्रतिशत घट्ने नेताहरुकाे भनाइ छ ।
अध्यक्ष पदमा केपी ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । मंगलबार बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ । विभिन्न प्यानलका समर्थकहरू आ(आफ्ना नेताको पक्षमा नारा लगाउँदै भोट माग्न व्यस्त छन् ।
विद्युतीय मतदान मेसिनको प्रयोग गरिने भएकाले प्रक्रिया छिटोछरितो हुने अपेक्षा गरिएको छ । देशभरबाट आएका दुई हजारभन्दा बढी प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व छान्ने यो प्रक्रियामा उत्साहपूर्वक सहभागी जनाएका छन् ।






