काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । महाराजगन्जमा केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्य तथा शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाबीच भेटवार्ता भएको छ।

ओली र देउवाबीच अहिले भेटवार्ता भइरहेको सचिवालय स्रोतले जनाएको छ । समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा उनीहरूबीच कुराकानी भएको  छ ।

ADVERTISEMENT

जेनजी आन्दोलनअघिसम्म एमाले र कांग्रेसबीच सत्ता साझेदारी थियो । ओली प्रधानमन्त्री थिए । तर जेनजी आन्दोलनकै कारण कांग्रेस एमालेको सत्ता ढलेको थियो ।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय छ । आगामी निर्वाचनमा कसरी जाने भन्ने विषयमा दुवै नेताबीच छलफल हुने बुझिएको छ ।

भदौ २४ गते निवास बुढानीलकण्ठमा देउवा दम्पतीमाथि आक्रमण भएको थियो। उनी सिंगापुरबाट उपचार गराएर स्वदेश फर्केका थिए । जेनजी आन्दोलनमा देउवा र ओली दुवैले आफ्नो घर गुमाएका थिए ।

देउवामाथिको सांघातिक आक्रमणप्रति ओली निकै रुष्ट भएका छन् । उनले जेनजी आन्दोलनका नाममा यस्ता हिंसा सैह्य नहुने बताउँदै आएका छन् ।