काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा कायम भएको छ ।
आज दुई सय ४० कम्पनीको सेयर मूल्य बढ्दा मात्र आठ कम्पनीको मूल्य घटेको छ । बिहीबार तीन करोड ८६ लाख कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो पहिलो मौद्रिक नीति सार्वजनिक भएपछि एक दिनबाहेक सबै दिन सेयर परिसूचक बृद्धि भएको छ । यही रफ्तारमा नेप्सेले चाँडै ३२ सयको आंकडा पार गर्ने विश्लेषण गर्न थालिएको छ ।
सबैभन्दा बढी ट्रेड टावर लिमिटेडको सेयरमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । यस्तै, शुभम पावर लिमिटेड, थ्रीस्टार हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र वाराही हाइड्रोपावरको नौ प्रतिशत सर्किट लागेको छ ।
नेपाल रिइन्स्योरेन्स, बुटवल पावर कम्पनी, राधी विद्युत कम्पनी, सानिमा माई हाइड्रो र न्यादी ग्रुप क्रमशः धेरै कमाउने कम्पनी बनेका छन् ।





