काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारलाई लक्षित गर्दै सामाजिक सञ्जाल तथा अन्य अनौपचारिक माध्यमबाट फैलाइएका अपुष्ट सूचनामा विश्वास नगर्न लगानीकर्तालाई आग्रह गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै जारी गरिएको सार्वजनिक सन्देशमा सचिवालयले बजारमा भ्रम र त्रास सिर्जना गर्ने उद्देश्यले विभिन्न भ्रामक हल्ला फैलाइएको उल्लेख गरेको हो।
सचिवालयका अनुसार पछिल्लो समय केही व्यक्ति पक्राउ पर्न लागेको वा उनीहरूमाथि अनुसन्धान भइरहेको भन्ने किसिमका चर्चा सत्य नभएको स्पष्ट पारिएको छ। यद्यपि, नियामक निकायलाई प्रभावमा पारेर बजारमा अस्वाभाविक गतिविधि गराउने सम्भावित प्रयासप्रति सम्बन्धित निकाय सतर्क रहेको र आवश्यक निगरानी बढाइएको जनाइएको छ।
सेयर बजारमा देखिएको पछिल्लो उतारचढावलाई लिएर लगानीकर्तामा बढ्दो असन्तुष्टि स्वाभाविक रहेको स्वीकार गर्दै सचिवालयले बजार सुधारका लागि सरकार र नियामक निकाय योजनाबद्ध रूपमा अघि बढिरहेको दाबी गरेको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता, घट्दो ब्याजदर तथा लगानी र सरकारी खर्च बढाउने नीतिले आगामी दिनमा बजारलाई सकारात्मक दिशा दिन सक्ने विश्वास पनि व्यक्त गरिएको छ।
सचिवालयले स्थिर सरकार, आर्थिक क्षेत्रको नेतृत्व र नियामक निकायमा दक्ष जनशक्ति छनोटको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै यसले लगानीको वातावरण थप मजबुत बन्ने अपेक्षा गरेको छ। साथै आयकर तथा राजस्वसम्बन्धी सहुलियतका व्यवस्थाले निजी क्षेत्रको लगानी, व्यवसाय विस्तार र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
पछिल्लो समय बजारमा आएको गिरावटलाई आधार बनाएर समग्र अर्थतन्त्रलाई नकारात्मक रूपमा चित्रण गर्ने प्रयास भइरहेको दाबी गर्दै सचिवालयले त्यसप्रति सचेत रहन आग्रह गरेको छ। सरकार प्रचारभन्दा नीतिगत सुधारमा केन्द्रित रहेको उल्लेख गर्दै केही समूहले व्यक्तिगत स्वार्थका लागि भ्रमपूर्ण सूचना फैलाइरहेको आरोप पनि लगाइएको छ।
सचिवालयले सेयर बजारसम्बन्धी जानकारीका लागि क्लबहाउस, ह्वाट्सएप, म्यासेन्जर समूह वा अन्य अनौपचारिक स्रोतमा निर्भर नहुन अनुरोध गरेको छ। लगानी गर्दा कम्पनीको वित्तीय अवस्था, आधिकारिक सूचना, जोखिम मूल्याङ्कन र सम्बन्धित निकायबाट प्राप्त प्रमाणित जानकारीलाई आधार बनाउनुपर्नेमा जोड दिइएको छ।





