काठमाडौं । सुरक्षाको कारण देखाउँदै एमालेले ११औं महाधिवेशन उद्घाटन स्थल भक्तपुरको सल्लाघारी चौरमा गर्ने तयारी भइरहेको छ। यसअघि भृकुटीमण्डपमा उदघाटन गर्ने भनिए पनि अहिले सल्लाघारीमा गर्ने मोटामोटी सहमति भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।
बुधबार बसेको महाधिवेशन सचिवालयको बैठकमा महाधिवेशन स्थलबारे छलफल भएको थियो। गौतमका अनुसार काठमाडौंमा सवारी चाप, मानिसहरूको आवतजावत आदिलाई ध्यानमा राखेर उद्घाटनस्थल परिवर्तन गर्न लागिएको हो। उद्घाटन सल्लाघारी गरिए पनि बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमै हुनेछ। एमालेको ११ औं महाधिवेशन मंसिर २७, २८, २९ गते हुँदैछ।
एमालेले महाधिवेशनका लागि नारा तय गरेको छ । पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको प्रचार विभाग प्रमुख गौतमले बताए ।
बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरूले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताए । पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रूप दिने तयारी भइरहेको उनले बताए ।






