काठमाडौं । एमालेको ११औँ महाधिवेशन आउन अब मात्र नौ दिन बाँकी छ । महाधिवेशनको मिति नजिकिंदै जाँदा कित्ताकाट तीव्र हुँदैछ ।

अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्यानलसहित भिडन्त हुने निश्चित भएसँगै नेता कार्यकर्ताले धमाधम आफ्नो कित्ता क्लियर गर्न थालेका हुन् ।

ADVERTISEMENT

एमाले महाधिवेशन मंसिर २७-२९ सम्म काठमाडौं र भक्तपुरमा हुँदैछ । तेस्रो कार्यकाल अध्यक्ष हुने तयारीमा रहेका ओलीलाई काउन्टर दिँदै पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । यससँगै दुवै पक्ष प्रचारयुद्धमा लागेका हुन् ।

संस्थापन पक्षले ओलीलाई ब्राण्डिङ गर्दै देशको अस्तित्व जोगाउन उनकै नेतृत्व आवश्यक पर्ने नारासहितको पोष्टर सार्वजनिक गर्न थालेको छ । पोखरेल पक्षले देश र लोकतन्त्रको रक्षाका लागि दृढ र सन्तुलित नेतृत्व चाहिने भन्दै प्रचार सामाग्री बनाएको छ ।

ADVERTISEMENT

संस्थापनले ओलीको प्रशंसा गर्दै प्रचार सामग्रीमा उनको फोटोलाई विशेष हाइलाइट गरेको छ । इतर पक्षले पोष्टरको पृष्ठभूमिमा मदन भण्डारीको फोटो राखेको छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, गोकुल बाँस्कोटालगायत पोखरेल खेमामा खुलेका नेता कार्यकर्ताले यो पोष्टर आफ्नो फेसबुकमा हालेका छन् । सुरुमा बाँस्कोटाले पोस्टर सेयर गरेका थिए ।

दोहोर्‍याएर एउटै कक्षा नपढ्ने उतिबेलै घोषणा गरेका ओलीको अनिवार्यता पुष्टि गर्न संस्थापन निकट कार्यकर्ताले उनको व्यक्तित्वलाई मुख्य नारा बनाएको देखिन्छ । ‘मेरो होइन माटोको बोली, फेरि एकपटक केपी ओली,’ ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ लेखिएका पोष्टर बनाएर सञ्जालमा हालिरहेका छन् ।

ओलीलाई तेस्रोपटक अध्यक्ष बन्न नदिन पोखरेल समूहले ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व, एमालेमा दृढ र सन्तुलित नेतृत्व’ नारा लेखिएको ब्यानर प्रयोग गरेका छन् । तर त्यसमा पोखरेलको फोटो राखिएको छैन । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन छ । उनकै ब्याकअपमा पोखरेल ओलीसँग भिड्न तयार भएका हुन् ।