काठमाडौं । सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार  बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संवैधानिक परिषद् काम, कतव्र्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद्ले विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गरेको छ ।

त्यस्तै, मंसिर ८ गते भारतको नयाँदिल्लीस्थीत राष्ट्रपति भवनमा भारतका नवनियुक्त प्रधानन्यायाधीशको शपथ र मंसिर १० गते नया दिल्लीमा नै आयोजना हुने संविधान दिवसको कार्यक्रममा सहभागी हुन कानुनमन्त्री अनिलकुमार सिन्हालाई स्वीकृत प्रदान गरिएको प्रवक्ता खरेलले बताए ।

बैठकले सशस्त्र प्रहरी चौथो संशोधन नियमावली स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारीसाधनको हकमा तीन वर्षसम्मको लागि इन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने निर्णय समेत गरेको छ ।