काठमाडौं । सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुनको पहिलो हप्ता आयोजना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को हिजोको बैठकले आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
यस्तै बैठकले प्रतियोगिताका लागि ६३ करोड बजेट छुट्टाउने निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०८२\८३ को बजेटमा प्रतियोगिताका लागि ५४ करोड विनियोजन गरेको थियो । तर, सोमवारको निर्णयसँगै प्रतियोगिताको बजेट ६३ करोड पुगेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को गएको बुधवार बसेको बोर्ड बैठकले राष्ट्रिय प्रतियोगिता फागुनको १ देखि ७ गते आयोजना गर्ने निर्णय गरेको थियो ।
२०७९ सालमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदको झन्डा लिएको थियो । हरेक दुई वर्षमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद गएको वर्ष आयोजना हुन सकेन ।








