काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारीचालकका लागि सञ्चालित सचेतना कक्षा अबदेखि अनलाइनमार्फत हुने भएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, रातो बत्ती, लेन अनुशासन उल्लङ्घन तथा तीव्र गतिमा सवारी चलाउनेमाथि ट्राफिक प्रहरीले जरिबाना तथा भौतिक रूपमा कक्षा सञ्चालन गर्दै आएको थियो ।

ट्राफिक प्रहरीले जरिबाना अनलाइन भुक्तानी गरी सचेतना कक्षा पनि अनलाइनमार्फत लिने व्यवस्था सुरु भएपछि ट्राफिक कार्यालय पुगेर घन्टौँ लाम बसी सचेतना कक्षा लिनुपर्ने बाध्यता हटेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार विशेष समारोहबिच गृहमन्त्री रमेश लेखकले ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ को आरम्भ गर्नुभयो ।

ADVERTISEMENT

सो अवसरमा उहाँले प्रहरी सङ्गठनलाई थप व्यवस्थित, समय अनुकूल तथा प्रविधिमैत्री बनाउनेक्रममा ‘अनलाइन सचेतना कक्षा’ महत्वपूर्ण कदम रहेको बताउनुभयो । प्रहरी सङ्गठनलाई प्रविधियुक्त बनाउन सरकार निरन्तर प्रयासरत रहेको उहाँको भनाइ थियो ।

सीमित स्रोत साधनको प्रयोगमार्फत प्रहरीले असीमित जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा प्रशंसा गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “गृह मन्त्रालयमा यतिबेला सबैभन्दा बढी माग अस्थायी प्रहरी चौकी स्थापना, अस्थायीलाई स्थायी गर्ने र प्रहरी चौकी स्तरोन्नतिसम्बन्धी छन् । यस्तो कुनै स्थानविशेषमा मात्र नभई देशव्यापी छ । यसले नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको देखाउँछ ।”

ADVERTISEMENT

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार प्रत्येक वर्ष सवारी नियम उल्लङ्घनमा १३ लाखभन्दा बढी सवारी चालक कारबाहीमा पर्ने गरेका छन् । वार्षिक झन्डै २६ हजार सवारी दुर्घटनामा दुई हजार ३०० भन्दा बढीको ज्यान जाने गरेको छ ।