बाजुरा । वर्षाका कारण करिब पाँच महिनादेखि अवरुद्ध बाजुराको मार्तडी–कोल्टी सडकमा बस सेवा पुनः सञ्चालनमा आएको छ। सडक मर्मतपछि सोमबारदेखि मिनी बस चल्न थालेसँगै पूर्वी उत्तरी भेगका बासिन्दालाई आवतजावतमा राहत मिल्ने भएको छ।
जेठ अन्तिम सातादेखि अवरुद्ध सडकमा पहिरो पन्छाएर असोज अन्तिम सातादेखि मर्मत सुरु गरिएको थियो। खोलामा पुल नबनेको र जिल्लीसहित विभिन्न स्थानमा पहिरो खसेपछि यातायात ठप्प भएको थियो। बस नचल्दा यात्रुले ठाउँठाउँमा जीप परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो।
यात्रुको गुनासोपछि सोमबार नेपालगन्जबाट आएको मिनी बस सदरमुकाम मार्तडी हुँदै कोल्टी पठाइएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए। तर सडक मर्मत भए पनि ठूला बस नियमित सञ्चालन गर्न सकिने अवस्था अझै स्पष्ट नभएको मार्तडी संयुक्त बस काउन्टरका प्रतिनिधि सन्तोष डडालले बताए।
बुढीनन्दा र बडीमालिका नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा पूर्वाधार विकास कार्यालयको सहकार्यमा सडक मर्मत गरिएको हो। तिहारसम्म बस सेवा सञ्चालन गर्ने प्रतिबद्धताअनुसार पहिरो पन्छाउने, भत्किएका ठाउँ सफा गर्ने र साँघुरो सडक फराकिलो बनाउने काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख जंगबहादुर थापाले बताए।
बस सेवा बन्द हुँदा यात्रुहरूलाई आर्थिक भारसमेत परेको थियो। मार्तडीदेखि बाउली खोलासम्म १५० रुपैयाँ, बाउली खोलादेखि रजातोलीसम्म ४०० रुपैयाँ र रजातोलीदेखि कोल्टीसम्म १ हजार १०० रुपैयाँ गरी जीपमा यात्रा गर्दा कुल १ हजार ६५० रुपैयाँसम्म भाडा तिर्नुपर्ने अवस्था थियो। अब मिनी बसमा मार्तडीदेखि कोल्टीसम्म ५०० रुपैयाँमै यात्रा गर्न सकिने भएको छ।
मार्तडी–कोल्टी सडक बाजुराका पूर्वी उत्तरी भेगका चार स्थानीय तहलाई जोड्ने मुख्य मार्ग हो। यसबाट हुम्ला, मुगु र कालीकोटका बासिन्दासमेत आवतजावत गर्छन्। २०८१ पुस २६ गते पहिलोपटक नाटेश्वरी बस कोल्टी पुगेको यो सडकमा वर्षायामसँगै सेवा बन्द भएको थियो।
बस सेवा पुनः सञ्चालनले यात्रुलाई राहत दिए पनि वर्षायाममा सडक अवरुद्ध हुने समस्या र खोलामा पुल नहुँदाको जोखिम भने अझै कायमै छ। नियमित यातायातका लागि सडक मर्मतसँगै आवश्यक पुल निर्माण र दीर्घकालीन पूर्वाधारको व्यवस्था गर्नुपर्ने देखिन्छ।









