काठमाडौं । त्रिपुरेश्वर चोकमा बसचालक अर्जुन दोङ तामाङले आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरेको घटनाबारे प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसदहरूले सडकमा ट्राफिक प्रहरीको व्यवहार, यातायातसम्बन्धी कानुनको कार्यान्वयन, श्रमजीवी चालकले भोग्नुपरेको तनाव तथा युवामा बढ्दो निराशाबारे प्रश्न उठाएका हुन्।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ को व्यवस्थामाथि प्रश्न उठाइन्। उनले ट्राफिक कारबाही चित्त नबुझे ३५ दिनभित्र यातायात व्यवस्था विभागका महानिर्देशकसमक्ष उजुरी गर्नुपर्ने व्यवस्था व्यवहारिक नभएको बताइन्।
उनले सानो जरिवानाविरुद्ध उजुरी गर्न टाढाबाट काठमाडौं आउनुपर्ने अवस्थाले श्रमजीवी चालकलाई थप आर्थिक भार पर्ने बताइन्।
सांसद तामाङले ट्राफिक प्रहरीले लाइसेन्स र बिलबुक नियन्त्रणमा लिएर गर्ने कारबाहीमा पारदर्शिता कायम गर्न प्रत्येक ट्राफिक प्रहरीलाई अनिवार्य रूपमा ‘बडी–वर्न क्यामरा’ उपलब्ध गराउन माग गरिन्।
नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले अर्जुन दोङ तामाङले बसभित्रै आत्मदाह गरेको घटनाप्रति दुःख व्यक्त गर्दै २५ वर्षीय श्रमजीवी युवालाई यस्तो कदम चाल्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्न गरिन्।
उनले मृतकले अरूको लाइसेन्स प्रयोग गरेको विषय छानबिनको पाटो भए पनि श्रमजीवी चालकले भोग्ने दबाब र समस्यालाई समेत राज्यले गम्भीर रूपमा लिनुपर्ने बताइन्।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले घटनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युवापुस्तामा बढ्दो निराशाबारे चिन्ता व्यक्त गरे। रास्वपा सांसद आशिष गजुरेलले चालक र सडक प्रयोगकर्ताको मनोवैज्ञानिक अवस्था तथा कार्यपरिस्थितिलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताए।
सांसदहरूले चालकको कार्यघण्टा नियमन, मनोवैज्ञानिक परामर्श, ट्राफिक प्रहरीमा बडी–वर्न क्यामरा जडान तथा यातायातसम्बन्धी कानुनी व्यवस्था पुनरावलोकन गर्न माग गरेका छन्।
यस्तै, घटनाबारे गृहमन्त्री स्वयं संसद्मा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने मागसमेत सांसदहरूले गरेका छन्।
यसअघि असार २५ गते त्रिपुरेश्वरमै जुम्लाका गणेश नेपालीले गरेको आत्मदाह तथा केही समयअघि मोटरसाइकल राइडर युवाले गरेको आत्मदाहको घटनासमेत स्मरण गर्दै सांसदहरूले यस्ता घटनाको कारणबारे गम्भीर अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।






