काठमाडौँ । माओवादी र एकीकृत समाजवादीसहित आठ वाम दल–समुहबीच एकता भएको छ । भृकटीमण्डपमा बुधबार एकता सभा आयोजना गरी ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गर्ने सहमति भएको छ । सो नाम अब निर्वाचन आयोगमा दर्ता गरिनेछ ।
एकता सभामा माओवादी सचिवालय सदस्य वर्षमान पुनले जनताको भावना बुझ्ने पार्टी बनाउने बताए । ‘हामी सुशासनसहित लोकतान्त्रिक पार्टी बनाउने छौँ । हामी सुशासनसहित लोकतान्त्रिक पार्टी बनाउने छौँ,’ उनले भने । नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न तारा राख्ने सहमति भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ।
एकता घोषणा कार्यक्रम भइरहेको बेला माओवादीबाट अलग भएको जनार्दन शर्मा समूहले परिवर्तन अभियान नेपाल नामको अभियान सुरु गरेको छ । यस्तै, एकीकृत समाजवादीबाट अलग भएका महासचिव घनश्याम भुसालले बुधबार नै पत्रकार सम्मेलन गरी विराट वाम एकताको अभियान सुरु गरेका छन् ।









