काठमाडौं । एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले ‘नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

एमालेले प्रधानमन्त्री बालेनको तथ्य र अकाट्य प्रमाणविपरीत अभिव्यक्ति आउनु खेदजनक र राष्ट्रहितविपरीत कार्य भएको ठहर गरेको छ । एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संघीय संसदमा व्यक्त गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

ADVERTISEMENT

‘नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले हिजो संघीय संसदमा व्यक्त गर्नुभएको धारणाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रको कार्यकारी प्रमुखको जिम्मेवार पदमा आसिन व्यक्तिबाट ऐतिहासिक यथार्थ, तथ्य र अकाट्य प्रमाणविपरीत अभिव्यक्ति आउनु अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत कार्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाधीनतासम्वन्धी विषय कुनै दल, सरकार वा व्यक्तिको मात्र सरोकारको विषय होइनस यो सम्पूर्ण नेपाली जनताको साझा राष्ट्रिय संकल्प हो । यस्तो संवेदनशील राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिनुभएको गैरजिम्मेवार अभिव्यक्तिले देशको स्थापित अडान, द्धिपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दावी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ ।’

ADVERTISEMENT

एमालेले ओली नेतृत्वको सरकारले २०७७ जेठ ३१ गते संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गरी नेपालको संविधानको अनुसूचीमा समेत समावेश गरिसकेको स्मरण गराए।

‘हाम्रो पार्टीका अध्यक्षको नेतृत्वको सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरी राष्ट्रिय इतिहासमा एक महत्वपूर्ण र ऐतिहासिक अध्याय थपेको थियो । उक्त नक्सा कुनै भावनात्मक वा हठात् निर्णयका आधारमा नभइ ऐतिहासिक तथ्य, अकाट्य प्रमाण, नापनक्सा, सन्धि–सम्झौता, जलविज्ञान तथा उपलब्ध आधिकारिक दस्तावेजहरूको गहन अध्ययनपछि जारी गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई २०७७ जेठ ३१ गते संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गरी नेपालको संविधानको अनुसूचीमा समेत समावेश गरिसकेको छ । सिंगो राष्ट्र एकजुट भई संविधानकै अंग बनाइसकेको भूमिमाथि देशकै प्रधानमन्त्रीले प्रश्न उठाउनु अक्षम्य कूटनीतिक त्रुटि हो ।’

ADVERTISEMENT

एमालेले नेपाल(भारतको समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु पूर्णतः असान्दर्भिक र कूटनीतिक अपरिपक्वता ठहर गरेको छ ।

यस्तै, नेकपाले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती रहेको बताएको छ। नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्तिमा शाहले ऐतिहासिक तथ्यलाई तोडमोड गरेकोसमेत ठहर गरेको छ ।

‘भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो’, विज्ञप्तिमा छ।

प्रधानमन्त्रीको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सीमा मिच्नु र भोगचलन हुनु फरक कुरा भएको ज्वालाले विज्ञप्तिमार्फत् बताएका छन्। नेपाल र भारत सिमामा भोगचलनमा एकले अर्कोको जमिन प्रयोगलाई अतिक्रमत भन्न नमिल्ने विज्ञप्तिमा जनाइएको छ।

देशको कार्यकारी प्रमुखले संसद्‌को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत रहेको विज्ञप्तिमा जनाइएको छ।