काठमाडौं । श्रम तथा रोजगारमन्त्री नियुक्त हुन लागेका दलित अभियन्ता खगेन्द्र सुनार विवादित व्यक्ति भएको सार्वजनिक भएपछि उनीमाथि पुनर्विचार हुने भएको छ।

आइतबार दिउँसो साढे २ बजे सुनारसहित चारजनालाई मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भए पनि अन्तिम समयमा पुनर्विचार हुन लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

ADVERTISEMENT

शपथका लागि तोकिएको समयभन्दा केहीअगाडि प्रधानमन्त्री कार्की केही मन्त्रीहरूसँग बालुवाटारमा छलफलमा छिन् ।

स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा उनलाई पक्राउ गर्न २०८१ असार २१ गते नै सुर्खेत जिल्ला अदालतले पुर्जी जारी गरेको थियो । सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिने र व्यक्तिको चरित्रहत्या गर्ने उनीमाथि साइबर ब्युरो र प्रहरीमा गरी २२ वटा उजुरी परेका छन् । सुनारविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको, तर मुद्दा फर्स्यौट नभएको पाइएको छ ।

ADVERTISEMENT

सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको पनि खुलेको छ । २०७८ मंसिरमा भएको १४औं महाधिवेशनका लागि सुनार दैलेख क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेका थिए । त्यसबेला खुलातर्फ उम्मेदवार बनेर उनले ३४९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेका थिए । कांग्रेसमा अहिले पनि यही महाधिवेशन प्रतिनिधि कायमै छ ।

जेनजी प्रतिनिधिहरूले पनि सुनारलाई मन्त्री नबनाउन आग्रह गर्दै प्रधानमन्त्री कार्कीलाई फोन गरेका थिए। उनको ठाउँमा अन्य व्यक्तिलाई मन्त्रालयको जिम्मेवारी दिबारे छलफल जारी छ । यस विषयमा पुनर्विचार गरेर केही दिनमा मन्त्री बनाउने विकल्पमा पनि प्रधानमन्त्री छलफलमा छिन्। गम्भीर प्रश्न उठेपछि अन्य मन्त्रीहरूको शपथ ग्रहण भएपनि सुनारलाई रोक्ने तयारी प्रधानमन्त्रीको कार्यालयले गरेको छ।

यसअघि स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी संगीता कौशल मिश्राको अन्तिममा नाम काटिएको थियो । हालै मात्र उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा एमआरआई खरिदमा १४ करोड भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ । मिश्राकै नियति सुनारमा पनि दोहोरिने देखिएको छ । फरार अभियुक्तसमेत रहेकाले उनी पक्राउ पर्नसक्ने प्रहरी स्रोतले बतायो । सुनारलाई मन्त्रीमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सिफारिस गरेकाे बुझिएकाे छ ।