काठमाडौँ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्धको विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पेस भएका प्रमाणबारे जानकारी गराउन आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले निवेदकले पेस गरेका प्रमाणका सम्बन्धमा सुनारलाई जानकारी गराई त्यसको कागज अदालतमा पेस गर्न बुधबार आदेश दिएको हो ।
यसअघि अदालतको अवहेलना तथा सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा सुनारसँग ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो ।
रिट निवेदक मनीषा गौतमका अनुसार उनले अदालतमा तीन घण्टा लामो अडियो पेनड्राइभमा राखेर प्रमाणका रूपमा पेस गरेकी थिइन् । तर, पछि बुझ्दा अदालतका कर्मचारीले पेनड्राइभमा तीन मिनेटको मात्रै अडियो रहेको जानकारी दिएको उनले बताइन् ।
त्यसपछि आफूले पुनः अडियोसहित निवेदन पेस गरेको गौतमले बताइन् । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पेस गरिएका प्रमाणबारे आरोपित सुनारलाई जानकारी गराएर त्यससम्बन्धी कागज पेस गर्न आदेश दिएको उनको भनाइ छ ।













