जुम्ला, परम्परागत रूपमा संयुक्त परिवारको जीवनशैलीका लागि परिचित जुम्लामा पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेदका मुद्दा उल्लेख्य रूपमा बढ्दै गएको छ । यससँगै स्थानीय स्तरमा सामाजिक चिन्ता पनि बढेको देखिन्छ ।
जिल्ला अदालत जुम्लाका खरिदार हरिकृष्ण तिमिल्सेनाका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा अदालतमा ६९ वटा सम्बन्धविच्छेदका उजुरी परेका थिए, जस मध्ये ४८ वटा फछ्र्योट भई २१ वटा अझै फैसला हुन बाँकी छन् । त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा उजुरी संख्या बढेर ७४ पुगेको छ । तीमध्ये ४८ वटा फछ्र्योट भइसकेका र २६ वटा मुद्दा अहिले पनि विचाराधीन छन् ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामै ४३ वटा नयाँ उजुरी परेका छन्, जस मध्ये १५ वटा फछ्र्योट भइसकेका छन् भने २८ मुद्दा अझै टुङ्गोमा पुगेका छैनन् ।
अदालतका अनुसार पछिल्ला तीन वर्षको तथ्याङ्कले जिल्लामा सम्बन्धविच्छेदका उजुरी क्रमशः बढ्दै गएको स्पष्ट देखिन्छ ।
स्थानीय तहका न्यायिक समिति र प्रहरी प्रशासनले घरेलु हिंसासम्बन्धी उजुरीहरू मेलमिलापमार्फत समाधान गर्न सक्ने व्यवस्था भए पनि सम्बन्धविच्छेदका मुद्दाको अन्तिम निर्णय अदालतमै हुने भएकाले उजुरीको संख्या बढेको हुन सक्ने अदालतको अनुमान छ ।
सम्बन्धविच्छेदका घटना बढ्दै जाँदा संयुक्त परिवार र सामाजिक संरचनामा पर्ने प्रभावबारे जुम्लाबासी चिन्तित देखिएका छन् ।












