काठमार्डौं । ललितपुरको ग्वार्कोस्थित पाँच तारे रोयल टुलिप होटलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । अभिमुखीकरण र परिचयात्मक कार्यक्रमको उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालले उदघाटन गरेका छन् ।
कार्यक्रमको उदघाटन बालेन र समापन रविले गर्ने भनिएको थियो । पार्टीका प्रत्यक्ष र समानुपातिकतर्फका अधिकांश सांसदहरु सहभागी हुँदा भावी संसदीय दलको नेता तथा प्रधानमन्त्रीको रुपमा हेरिएका वरिष्ठ नेता बालेन उपस्थित छैनन् । रवि अस्वस्थताका कारण सहभागी भएनन् ।
पार्टीले पहिलोपल्ट संसद छिर्न लागेकाहरुलाई संसदीय भूमिका, कानून निर्माण, सुशासन तथा राजनीतिक संस्कार विकाससम्बन्धी प्रशिक्षण दिन विभिन्न क्षेत्रका विषयविज्ञ र पूर्वप्रशासकहरुलाई कार्यक्रममा बोलाएको छ ।
सभापति लामिछानेले समापन मन्तव्य मात्र दिनेछन् । कार्यक्रमको तालिकामा बालेन कहीं कतै समावेश छैनन् । पार्टीले नै उनलाई कार्यक्रमको कुनै पनि सेसनमा नराख्ने निर्णय गरेको हो वा बालेन स्वयंले नचाहेका हुन्, त्यो भने खुलेको छैन । तर पार्टीको महत्वपूर्ण कार्यक्रममा बालेन सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।








